काठमाडौं । कोशी प्रदेश गठनको विषयलाई नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाई आजका लागि तोकिएको छ ।
कोशी प्रदेशमा सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्चमा पुगेको थियो ।
निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रवार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् ।