धनगढीः आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।
घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका-३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको थियो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।