७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणामा निस्कियो पशुपति क्षेत्र विकास कोषको समूह



अ+ अ-

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्न पशुपति क्षेत्र विकास कोषको समूह पशुपति क्षेत्रबाट हिँडेको छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नेतृत्व गरी उपत्यकाका विभिन्न भागमा जात्राको निमन्त्रणा गर्ने गरिन्छ । दुःदुःच्याँ च्याँ भनिने जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । जात्रामा आमाको दूध खाने बालबालिका पनि हेर्न आउनु भनी निमन्त्रणा गरिने भएकाले दुःदुस्च्याँ च्याँ भन्ने गरिएको हो । निमन्त्रणका लागि वाग्मती पारि बस्नुहुने पशुपतिनाथका भट्ट श्रीरामकारान्तर भट्ट पनि सहभागी हुनुभएकोे छ ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि नै पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा चैत ४ गते शनिबार दिउँसो ४ बजेदेखि सुरु हुने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु हुने जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई बताउनुभयो ।

जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिन्छ । बज्रेश्वरी जात्रा समापन हुने बित्तिकै वत्सलेश्वरीको जात्रा आरम्भ हुन्छ ।

वत्सलेश्वरी जात्रा तीनदिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दूर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ ।

देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरूपमा सहभागी हुने गरेको पशुपति क्षेत्रको जात्राका विषयमा विद्यावारिधि शोध गरिरहनुभएका कोषका कर्मचारी वरुण खतिवडाले जानकारी दिनुभयो ।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा यस अवसरमा नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत ८ गते बुधबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दूर जात्रा गरेपछि ११ दिन लामो जात्रा चैत ९ गते बिहीबार सकिन्छ ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा जाने गरेका छन् । यस अवसरमा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राख्ने गरिएको छ । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ ।

जात्राको निमन्त्रणा गरेपछि आजैदेखि पशुपति क्षेत्रमा यो जात्राको रौनकता बढ्छ । जात्राका लागि पशुपति क्षेत्रमा ठाउँ ठाउँमा स्वागत ढोका बनाइन्छ । पशुपति क्षेत्रमा वर्षभर मनाइने जात्रामध्ये यो सबैभन्दा महत्त्वपूर्ण भएकाले यसको संरक्षणमा स्थानीय सरकारले पनि सहकार्य गरेको काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिनुभयो । रासस