काठमाडौं I संगीतले सबैखाले मनःस्थितीलाई सिर्जनाबाट अभिब्यक्त गरेको छ । उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन् । नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ –
‘भटटट भटटट भट्भटे आयो
बाटो छोड् छोड् छोड्’
धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ । अर्थात्, अब तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेली प्रारम्भ गर्दैछ ।
छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो । तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक ग¥यो । दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो ।
छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ । यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ । अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहने छन् ।
यस गीतको एउटा अन्तराले भन्छ –
‘कुजिएका स्वरहरु एकत्रित भइजाऊ
मनदेखि मनसम्म
सडकदेखि सदनसम्म
एकत्रित भइजाऊ है भइजाऊ’
राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सहि दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो यो शब्दले औंल्याएको छ ।
यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन् ।
‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दैआएको हुँ,’ अमृत भन्छन्, ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु ।’ ‘लेख्दै जाँदा यसमा हालको राजनीति, देश र कालप्रतिको जन असन्तुष्टि पनि झल्कन पुग्यो,’ उनी रचनागर्भबारे भन्छन्, ‘नेपालका सदन र सडक दुवै भद्रगोल हुँदै गइरहेको बेला मैले सडकको आवाज मार्फत् परिस्थितीको वर्णन गरेको हुँ ।’ यसमा अलिकता हल्ला र अलिकता विद्रोहको झलक पनि आएको उनले स्पष्ट पारे । गीतको एक ठाउँमा गायकले चिच्याएरै संवाद गरेका छन् ।
अमृत कुनै समय स्वयं मोटरसाइकल हाँक्थे । त्यतिबेला उनलाई एकप्रकारको उन्मुक्तता महशुस हुन्थ्यो । खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीब्र गतिमा अघि बढ्नुले प्रदान गर्ने त्यो सन्तुष्टी थियो । यदाकदा त्यसले अराजकतातर्फ पनि लैजान्छ । मोटरसाइकल हाँक्दाको उन्मुक्तता चाहिँ यसै गीतमा प्रतिविम्वित हुनपुगेको उनी बताउँछन् । सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदिक्षा भने यी दुवै भद्रगोल नभइ अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ ।
यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ ।
गीतसँगै शब्दहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लश्कर पनि उपस्थित हुन्छ । कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ । यो लश्कर गीतसँगै काठमाडौंका थुप्रै परिचित स्थलहरुबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ । गीतको भाव अनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ ।
सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् । क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन् । यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ । म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।
नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन् ।
यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।